काठमाडौँ। भारतको निजी क्षेत्रको तेस्रो ठूलो बैंक एक्सिसले चालु आर्थिक वर्षको चौथो त्रैमास (जनवरी-मार्च) मा अपेक्षाभन्दा कमजोर नतिजा सार्वजनिक गरेको छ। बैंकको नाफामा सामान्य गिरावट आएको हो। जसको मुख्य कारण ट्रेजरी आम्दानीमा कमी र प्रोभिजनिङ खर्चमा वृद्धि हो।
बैंकका अनुसार यस अवधिमा खुद नाफा ७०.७१ अर्ब भारु पुगेको छ। जुन गत वर्षको सोही अवधिको ७१.१८ अर्ब भारुसँग तुलना गर्दा ०.७ प्रतिशतले कम हो। बजार विश्लेषकहरूले भने करिब ७३.१६ अर्ब भारु नाफाको अपेक्षा गरेका थिए। नाफा घट्नुको मुख्य कारण ट्रेजरी सञ्चालनबाट हुने आम्दानीमा ठूलो गिरावट हो। ऋणपत्र (बन्ड) यिल्ड बढ्दा ट्रेजरीतर्फको करअघिको नाफा झन्डै ७७ प्रतिशतले घटेर ३.०३ अर्ब भारुमा सीमित भएको छ। साथै, भारतिय रिसर्भ बैंक अफ इण्डियाले विदेशी मुद्रा कारोबारमा कडाइ गरेकाले ट्रेडिङ आम्दानी पनि प्रभावित भएको देखिन्छ।
यससँगै बैंकको प्रोभिजन तथा आकस्मिक खर्च पनि उल्लेखनीय रूपमा बढेको छ। यो खर्च गत वर्षको तुलनामा दोब्बरभन्दा बढी बढेर ३५.२२ अर्ब भारु पुगेको छ। यद्यपि, बैंकले यो वृद्धि खराब कर्जाका कारण नभई आफ्नै सावधानीपूर्ण नीति (स्वैच्छिक प्रोभिजनिङ) का कारण भएको स्पष्ट पारेको छ।
सकारात्मक पक्षमा, बैंकको कर्जा विस्तार बलियो देखिएको छ। मार्चसम्म कर्जा प्रवाह १९ प्रतिशतले बढेको छ भने निक्षेप १४ प्रतिशतले वृद्धि भएको छ। विशेषगरी खुद्रा (रिटेल) र साना तथा मझौला व्यवसाय क्षेत्रबाट आएको मागले यो वृद्धि सम्भव भएको हो।
बैंकको खुद ब्याज आम्दानी पनि ५ प्रतिशतले बढेर १४४.५७ अर्ब भारु पुगेको छ। साथै, खराब कर्जा अनुपात ग्रसमा सुधार देखिएको छ। डिसेम्बरमा १.४० प्रतिशत रहेको यो अनुपात मार्चसम्म घटेर १.२३ प्रतिशतमा आएको छ।
यसबीच प्रतिस्पर्धी बैंकहरू HDFC Bank र ICICI Bank ले भने अपेक्षाभन्दा राम्रो नाफा सार्वजनिक गरेका छन्।बैंकको सञ्चालक समितिले नियामक स्वीकृतिपछि इक्विटी सेयर वा अन्य माध्यमबाट २०० अर्ब भारुसम्म नयाँ पुँजी जुटाउने प्रस्ताव पनि पारित गरेको छ।